वातावरण संरक्षणमा प्रदेश सांसदको चासो

प्रदेश नं ३ अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्य र संरक्षणकर्मीबीच आज चितवनको सौराहामा वन र वन्यजन्तुको संरक्षणका विषयमा अन्तरक्रिया भएको छ ।

चितवन निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री दावा लामाले वन र वन्यजन्तुको संरक्षणका साथसाथै मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वन र वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको भूमिकाको प्रशंसा गर्दै मन्त्री लामाले संरक्षणलाई समुदायको आयआर्जन र जीविकोपार्जनसँग जोड्नुपर्ने बताउनुभयो ।

प्रदेश नं ३ को उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले निकुञ्जकै कारण नेपाल विश्वसामु चिनिने अवस्था रहेको उल्लेख गर्नुभयो । यहाँका विद्यालय तथा मध्यवर्ती क्षेत्रमा महिला सहभागिता कम रहेको विषय कोट्याउँदै उहाँले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

संरक्षण र स्थानीयवासीको आयआर्जनका लागि समिति सहकार्य गर्न तयार रहेको प्रतिवद्धता समेत आलेले जनाउनुभयो । उहाँले वन्यजन्तुबाट मृत्यु भएकाका परिवार र घाइतेहरुलाई राहत दिने विषयमा सबै गम्भीर हुनुपर्ने पनि बताउनुभयो । कार्यक्रममा प्रदेश सदस्य विजय सुवेदीले विकासका लागि पर्यटन र पर्यटनका लागि संरक्षण गर्न जरुरी रहेको बताउनुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र जैविक विविधता संरक्षणमा ध्यान दिन सांसदहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको संरक्षण गतिविधिबारे प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल र मध्यवर्ती क्षेत्रका बारेमा वासु ढुंगानाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा समिति सभापति आलेसहित प्रदेश सदस्यहरु पार्वती सिलवाल, कुसुमकुमार कार्की, प्रतिमा श्रेष्ठ, कृष्ण भुर्तेल, रामलाल महत्तो, विजय सुवेदी, कञ्चन खनाल र मुनु सिग्देलको सहभागिता थियो ।