साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन

नेपाली साहित्य र समालोचनाको क्षेत्रमा लामो समयदेखि क्रियाशील वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई नागरिक अभिनन्दन गरिएको छ ।

चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय करिब १०० भन्दा बढी संस्थाले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका हुन् । विसं २००४ मा भोजपुरमा जन्मिएका सुवेदीको समालोचना क्षेत्रमा छुट्टै पहिचान छ ।

नेपाल–प्रज्ञा प्रतिष्ठानको दुई पटक प्राज्ञसभा सदस्य सुवेदीका दुई दर्जनभन्दा बढी मौलिक र सम्पादित कृति प्रकाशित छन् । नेपाली साहित्यमा मात्रै नभएर समाजका हरेक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाले नागरिक अभिनन्दन गरिएको कार्यक्रमको संयोजक गंगा सुवेदीको भनाइ छ ।
अभिनन्दनका अवसरमा सुवेदीकै उचाई बराबरको ताम्रपत्रसमेत प्रदान गरियो । समारोहमा सुवेदीकी श्रीमती मीना सुवेदीलाई पनि अभिनन्दन गरिएको थियो ।