सगरमाथा आरोहण गर्नेको संख्या ४ सय नाघ्यो

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नेको संख्या ४ सय नाघेको छ । गत वैशाख ३० गतेदेखि शुरु भएको वसन्त ऋतुको आरोहण जेठ ११ गतेसम्म चलेको थियो । आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।
अघिल्ला वर्षभन्दा यस पटकको आरोहणमा मानवीय क्षति कम भएको तथ्याङ्क छ । यसवर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।
त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट रु ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट रु एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।
यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ ।
यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दल सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रित भएका थिए ।
सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक फरक छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । आरोहणको रोयल्टीमध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिन्छ ।

सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।  सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा करिब आठ हजार जनाले सगरमाथाको शिखर चुमेका छन् । आरोहणका क्रममा २८६ जनाको निधन भएका छ ।