ट्रेकिङ गाइड तालिम सुरु

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यकासाथ एक महिने ट्रेकिङ गाइड तालिम शुरु गरेको छ ।
पदयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण निकै बढिरहेको अवस्थामा यसको व्यावसायिक विकासका लागि तालीम आवश्यक भएको महसुस गरी तालिम आयोजना गरेको संघले जनाएको छ ।
एक महिने ट्रेकिङ गाइड तालिममा प्रदेश नं ४ र मुलुकका विभिन्न भागबाट गरी ३४७ जना सहभागी छन । टान पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको २५ औं वर्ष पुगेका अवसरमा तालिमको आयोजना गरिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै सन् २०२२ मा नेपालमा २५ लाख पर्यटक भित्र्याउने सरकारको योजना सफल पार्न पर्यटन व्यवसायीको महत्वपूर्ण भूमिका हुने प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको भनाइ थियो ।