सिउरुङ महोत्सव शुरु

लमजुङ जिल्लाको मर्स्याङ्दी  गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ सिउरुङमा तीन दिने महोत्सव शुरु भएको छ । विगतका वर्षझैँ यसपटक शुक्रबारबाट ११ औं सिउरुङ महोत्सव शुरु भएको हो ।
ग्रामीण होमस्टे प्रवर्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवर्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रवर्धनको लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिले जनाएको छ ।
महोत्सव उद्घाटन गर्दै प्रदेशसभा सदस्य धनन्जय दवाडीले मुलुकको विकास र समृद्धिका लागि ग्रामीण पर्यटन प्रवर्धनको लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।
समुद्र सतहदेखि करीब एक हजार ८५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको बाहुल्यता छ । विभिन्न हिमशृंखलाको अवलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो ।
सिउरुङ गाउँमा हाल वार्षिक हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।
महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकी, स्थानीय हस्तकलाका सामग्रीको प्रदर्शनका साथै खाना महोत्सव, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, झोला, पछ्यौरा, ऊन र धागोबाट निर्मित सामग्रीको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।