वार्ताको सम्भावना टरेको छैन: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग हुने भनिएको वार्ताको सम्भावना नटरेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीच आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलनबारेको अनिश्चय कायम रहेके बखत ट्रम्पको यस्तो भनाइ आएको हो ।

यो जुन १२ नै हुनसक्छ । हामी उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक समारोहमा बोल्दै भने, “उनीहरू (उत्तर कोरियालीहरू) सम्वादका लागि धेरै इच्छुक देखिएका छन् । हामी पनि यस बिषयमा सकारात्मक नै छौँ । हेरौँ, के हुन्छ ।”
एक दिनअघिमात्रै अमेरिकाले उत्तर कोरियाली नेता किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको भन्दै पत्राचार गरेको थियो । सो सम्मेलन रोकिनुको कारण उत्तर कोरियाले गरेको खुला विरोध भएको अमेरिकाले जनाएको थियो ।बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु ।”
यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेका थिए भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्ख’ को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो । तर, उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको बुझिएको छ ।