बाघले चश्मा लगाईदियो!

बालकथा लेखन मेरो रुचिको विषय हो । बालबालिकाका लागि लेख्नु अति नै प्रिय बाटो हो । बर्दिया जिल्लाको ठाकुरद्वारामा ‘जैविक विविधता र वातावरण संरक्षणसम्बन्धि बालकथा लेखन कार्यशाला हुन गइरहेको थियो ।

‘कार्यशालामा जानु पर्छ है’ बालसाहित्य सर्जक यशु श्रेष्ठले तीन हप्ताअघि नै भन्नुभएको थियो । त्यसपछि नै मन चौ चौ भइरहेको थियो । जान-आउन, कार्यशालामा सहभागी हुन एक हप्ता समय छुट्याउनु पर्दथ्यो । तर, म एकदमै दोधारमा थिएँ । भर्खरै नयाँ आफिसमा जागिर सुरु भएको थियो । अहो! कसरी समय मिलाऊँ ? छु्ट्टी कसरी मागौँ ? साह्रै नै चिन्तित भएँ । विचार गरेँ, होस्, यो कार्यशालामा जान्नँ । फेरि फेरि मौका आउला नि! फेरि मन मानेन । यो त एउटा अवसर हो । जसरी पनि मिलाएर जान्छु । यसरी मनले मनलाई जित्दै बर्दिया कल्पन थालेँ ।

कहिलेकाहीँ अवसर सँगसँगै आइदिँदा छान्ने दुविधा हुँदोरहेछ । दुविधालाई चिरेर एउटा निर्णय गर्नैपर्ने । मैले बर्दिया जाने नै निर्णय गरेँ ।

२०७४ कार्तिक १८ गतेको साँझ, परिचय पब्लिेकेन्सका गोविन्द आचार्य, भाष्कर ज्ञवाली, दीपेन्द्र भट्ट, नविन खतिवडा, बालसाहित्य सर्जक प्रमोद प्रधान, अनन्त वाग्ले, यशु श्रेष्ठ, चित्रकार सुनिल थापा र म बालाजु बसपार्कबाट गाडीमा चढ्यौँ । काठमाडौँको बालाजु–कलंकी रोडमाथि गाडीको लावा-लस्कर । एक डेढ घण्टाको जाम छिचोल्दै हामी हुइँकियौँ ।

सूर्य पश्चिममा लुकेपछि देखिने पालो चन्द्रमाको । गाडी आफ्नै सुरले चन्द्रमालाई उछिन्न खोजेझैँ हुँइकिरहेको थियो । बिस्तारै बिस्तारै मेरो पेटमा भएका आहाराहरु घाँटीसम्म आउन थाल्दै थिए । मैले तिनीहरुलाई रोक्नको लागि दुईवटा औषधी एकैचोटि मुखबाट पेटमा हुत्याईदिएको भएपनि तिनीहरुले केही गर्न सकेनछन् । म शिथिल हुँदै गएँ ।

थारु जातिले भगवान विष्णुलाई ठाकुर भन्ने भएकोले मन्दिरको नाम ठाकुरबाबा र ठाउँको नाम ठाकुरद्धारा रहन गएको रहेछ

राती खाना खाने ठाउँमा गाडी रोकियो । मैले केही खान सकिनँ । गाडीमा चढेपछि कतिखेर निदाईएछ पत्तै भएन ।

भोलीपल्ट बिहान हामी कोहलपुर हुँदै बर्दियाको भुरी गाउँ पुग्यौं । गाडी त्यहीँसम्म मात्र जाने रहेछ । त्यसपछि अर्को गाडी चढेर बर्दियाको ठाकुरद्वारातिर लाग्यौं । लगभग दुई घण्टाको यात्रापछि हामी ठाकुरद्वारा पुग्यौं ।

त्यहाँ हामीलाई लिन सेन्सका अध्यक्ष आउनुभएको रहेछ । उहाँले व्यवस्था गरेको गाडीले बर्दिया राष्ट्रिय निकुन्ज हुँदै एउटा रिसोर्टभित्र लगेर छाडिदियो । केहीबेरपछि घुम्न निस्कियौं । बाटोमा आउँदा एउटा मन्दिर देखेको थिएँ, ‘ठाकुरबाबाको मन्दिर’ लेखेको । एकजना स्थानीयले मन्दिरको बारेमा खुलस्त पारिदिए ।

ठाकुरबाबाको मन्दिरमा हरेकवर्ष माघीको दिन भव्य मेला लाग्ने रहेछ । यस मन्दिरमा सन्तान नहुनेहरु सन्तान हुने विश्वासमा पूजा गर्न आउने रहेछन् । थारु जातिको महन्त पूजारी रहेको यो मन्दिरभित्र भगवान विष्णुको मूर्ति रहेछ । थारु जातिले भगवान विष्णुलाई ठाकुर भन्ने भएकोले मन्दिरको नाम ठाकुरबाबा र ठाउँको नाम ठाकुरद्वारा रहन गएको रहेछ ।

ठाकुरद्वारातिरका सबैजसो घरहरु सानासाना र माटोले लिपेको देखियो । तर, धेरै घरका ढोकामा पल्ला थिएनन् । घरभित्र हेर्ने उत्सुकता लाग्यो । मैले त्यहाँ बस्नुभएको भौजी (थारु भाषामा भाउजुलाई भौजी भन्दा रहेछन्)लाई घरभित्र हेर्नको लागि अनुरोध गरें । भित्र एउटा भकारीजस्तो वस्तु बीचमा राखेको देखें । त्यसलाई थारु भाषामा ‘डेहेरी’ भनिँदो रहेछ । यसैले नै कोठालाई छुट्टयाई दिने काम गर्दोरहेछ । त्योभन्दा अलि सानो लाई ‘कुठ्ली’ भन्दो रहेछ । हामी त्यहाँ एकघण्टा जति बस्यौं र फर्कियौं ।

राती एकछिन टीभी हेर्नुपर्‍यो भनेर यताउता खोजें । कोठामा टीभी रहेनछ । म बसेको कोठामा मात्र छैन होला भन्ने ठानेर भोलिपल्ट बिहानै रिसेप्सनमा गएर सोधेँ । रिसेप्सनमा बस्ने मान्छेले हाँसेर जवाफ दियो ‘म्याडम यहाँ कसैको कोठामा पनि टि.भी छैन ।’ टीभीको आवाजले जनावरलाई असर गर्छ भनेर राख्न नपाईने रे!

त्यसदिन कार्यशालाको उद्घाटन र स्थानीय शिक्षक शिक्षिका तथा विद्यार्थीहरुसँगको परिचय कार्यक्रम सकेर हामी हात्तीसार गयौं । हात्तीनेर बसेर फोटो खिचियो ।

केही बेरपछि खाना आयो । कतै मुसाको परिकार त हैन ? जस्तो लाग्यो । प्रमोद प्रधानले त नियालेर नै हेर्नुभयो । हामी सबै हाँस्यौं । अर्डर नगरी मुसाको मासु खुवाउँदा रहेनछन् भन्ने थाहा पाएपछि बल्ल ढुक्क भयो ।

नौ बजेदेखि चार बजेसम्म हाम्रो कार्यशालामा कथालेखनबारे छलफल हुन्थ्यो । त्यसपछि घुम्न निस्किन्थ्यौं । यहि दौरानमा ठाकुरद्वारा गाविसको छिमेकी गाविस सूर्यपटुवाको ‘डल्ला होमस्टे’ गयौं । यहाँको होमस्टे पनि थारु समुदायले नै चलाएका रहेछन् । घरहरुमा नम्बर राखेको रहेछ । हामी बस्ने घर नम्बर पन्ध्र रहेछ । त्यहाँसम्म पुग्न लगभग पनि पन्ध्र मिनेट लाग्यो । त्यहाँ पुग्दा एकजना थारु युवतीले निधारमा टिका र हातमा फूल दिएर स्वागत गरिन् ।

थारुहरुले आफ्नो खानामा मुसालाई समावेश गर्ने र मुसाको अचार पनि बन्छ भन्ने सुनियो । केही बेरपछि खाना आयो । कतै मुसाको परिकार त हैन ? जस्तो लाग्यो । प्रमोद प्रधानले नियालेर नै हेर्नुभयो । हामी सबै हाँस्यौं । अर्डर नगरी मुसाको मासु खुवाउँदा रहेनछन् भन्ने थाहा पाएपछि बल्ल ढुक्क भयो ।

त्यसपछि हामी थारु-नाच हेर्न गयौं । नाच शुरु हुनुअगाडि एकजना मानिस नमस्कार गर्दै हँसिलो अनुहार लिएर आए । उनले आफ्नो नाम मँगलु भने । जंगली जनावरहरु आएर खेतीपाती बिगारी दिए तापनि तिनको संरक्षण गर्नुपर्छ भन्ने कुरा गरे । बेलायतका राजकुमार चार्ल्स र नेपालका नायक राजेश हमाल पनि डल्ला होमस्टेमा आएर बसेको कुरा गर्वसाथ सुनाए । ती व्यक्तिले रमाइलो गरी ‘हात्ती देखाएर हात्ती खल्तीमा हाल्ने र गैंडा देखाएर गैंडा खल्तीमा हाल्ने’ गरेको बताए ।

बिहान उठेर हेर्दा रुमाल ओच्छ्याएको जस्तो चारपाटे खेतमा मुजुरहरु आएर दाना खान लागेका थिए । चित्तलहरु उफ्री-उफ्री कुँदिरहेका थिए । त्यो दृश्यले मन प्रफुल्लित भयो ।

केहीबेरमा हामीलाई लिन पर्यटक चढ्ने गाडी आईपुग्यो । हामी रिसोर्टमा नै फर्कियौं । फेरि नित्य कार्यक्रमतिर लाग्यौं । सँधैझैं कार्यक्रम सकेर बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न गयौं ।

नेपालको चितवन राष्ट्रिय निकुञ्जपछि धेरै पर्यटकहरु बर्दिया पुग्ने रहेछन् । उनीहरुको प्राथमिकता भनेको निकुञ्ज घुम्नु रहेछ अनिमात्रै बाँकी क्षेत्र । निकुञ्जभित्र चराचुरुङ्गी तथा जीवजन्तुको जीप र हात्तीमा चढेर अवलोकन गर्न सकिने रहेछ ।

केहीबेरमा हाम्रो लागि दुईवटा गाडी आए । त्यसमा चढेर जंगल अवलोकनको लागि गयौं । साथमा एकजना गाईड पनि थिए । धेरै पर पुगेपछि गाडी रोकियो । त्यहाँबाट पैदल हिंड्नुपर्ने उनले बताए । आवाज पटक्कै ननिकाल्न अनुरोध गरे । हामी लाईनबद्ध भएर उनको पछिपछि लाग्यौं । लामालामा काँसहरुलाई पन्छाउँदै हामी अगाडि बढिरहयौं । हामी मौन भएर होला काँसको स्वार्लाङ्ग स्वार्लाङ्ग आवाज टड्कारै सुनिएको थियो । कतै त्यसको आवाजले बाघ आउने त हैन ? मन ढक्क फुलेर आयो । गाईडले एउटा रुख देखाएर बाघले नँग्राले चिथोरेको भनेर बताए । बाघले गर्‍यो या अरु कुनै जनावरले त्यो त थाहा भएन तर यतिखेर भने गाईडको कुरा पत्यायौं । साँझ पर्न लागेको हुनाले सबै जनावर तथा चराचुरुङ्गी बास बस्न गईसकेको अनुमान लगायौं । फर्किने बेलामा एक हुल चित्तलहरु दौडिरहेका देख्यौं । शायद तिनीहरुलाई पनि बास बस्न हतार भएको हुनुपर्छ । हतार हतार फोटो खिचेर हामी बाहिरियौं ।

प्रकृतिको सुन्दरता नियाल्दा नियाल्दै एक हप्ता बितिसकेछ । कार्यक्रम सकिएर फर्किने दिनपनि आयो । कार्यशालाको अन्तिम दिन हामीले एकजना बहादुर व्यक्तिसँग भेट्ने मौका पायौं । ती थिए, भदै थारु । जसले बाघसँगको भिडन्तमा एउटा आँखा गुमाए । तर, जसले उनको आँखा काम नलाग्ने बनाईदियो उसैको संरक्षणमा लागि परेका रहेछन् ।

विश्व वन्यजन्तु कोषले हलिउडका नायक लियोनार्दो डि क्याप्रियोलाई विश्व बाघ संरक्षकका लागि दूत बनाउँदा उनी बाघको अध्ययन गर्न नेपाल आएका थिए । उनी बर्दिया राष्ट्रिय निकञ्ज पुगे । त्यहाँ भदै थारुको बहादुरीको कुरा सुनेर आफै भेट्न गएछन् । लियोनार्दोले उनको बहादुरीको प्रशंसा गर्दै आफूले लगाएको चस्मा फुकालेर दिएछन् । भदैले हाँस्दै भने,‘ “त्यही बाघको कारणले हिरोको चश्मा लाउन पाइयो । बाघले मेरो आँखामा सुन्दर चश्मा लगाइदियो ।” उनले त्यो चश्मा विशेष ठाउँमा मात्र लगाउने गरेका रहेछन् । बेलायतको फिल्म मेकर टिम उनलाई खोज्दै बर्दिया पुग्यो । बाघ संरक्षणकै लागि भनेर बनाएको फिल्ममा भदैले बेलायती नायिकासँग पन्ध्र मिनेटको भुमिका निर्वाह गरेका रहेछन् । उनी भन्दै थिए, यदि मेरा आँखा बाघले नफुटालि दिएको भए आज मलाई कसैले पनि चिन्दैन थियो । हामीले उनीसँग बसेर फोटो खिचायौं । र, छुट्टियौं ।

राबडी खान नपाइने भयो भन्दै हिँडिरहेका बेला मेरा आँखा एउटा पसलमा अडिए । ‘यहाँ राबडी पाईन्छ’ लेखेको थियो । हामीले एक घण्टा कुरेर राबडी चाख्यौं । राबडी त खुवाजस्तै पो हुँदोरहेछ ।

त्यसपछि हामी महेन्द्र राजमार्गमा पर्ने कर्णाली नदीको पुल हेर्न गयौं । बर्दिया र कैलाली जिल्लालाई जोड्ने यो पुललाई सुदुरपश्चिमको प्रवेश द्वार पनि भनिँदो रहेछ । एसियाकै पहिलो एक खम्बे पुल हेर्न धेरै मानिसहरु चिसापानी आउँदा रहेछन् । हामीले पनि कर्णाली पुलमा बसेर फोटो खिच्यौं अनि तातोतातो माछा र अचार स्वाद मानी मानी खायौं । भोलिपल्ट कोहलपुरमा पूर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा भाग लिनको लागि जानुपर्ने थियो । तर, फर्किने बेला साँझ पर्न थालिसकेकोले गाडी पाएनौं । चिसापानीबाट कोहलपुर पुग्न लगभग तीन घण्टा लाग्ने रहेछ । गाडी पाईएन । तनाव भयो । अन्तिममा एउटा गाडी हाम्रो नजिकै आएर रोकियो । अनुहारमा अलिकति हाँसो छायो । तर, त्यो एकैछिन टिक्न पाएन । कलेजको पिकनिक गएर फर्किएको गाडी रहेछ । हामीले कोहलपुरसम्म लगिदिन अनुरोध गर्‍यौं । अलि धेरै अनुरोध गरेपछि ‘उभिएर जाने भए हिड्नुस्’ भन्ने जवाफ आयो । हामीले उभिएर नै तीन घण्टाको यात्रा गर्ने निधो गर्‍यौं ।

बसमा चढेपछि खलासीले खै के सोच्यो, एउटा केटालाई उठाएर मलाई सिट मिलाईदियो । अनि प्रमोद सरलाई अलि बुढो देखेर होला उसले ठूलो डेक्ची घोप्टयाएर त्यसमाथि पत्रिका ओच्छ्याइदिएर बस्ने व्यवस्था गरिदियो । उसको व्यवहारले हामी मख्ख पर्‍यौं ।

गाडी गुडेपछि ड्राइभरले ठूलो आवाजमा हिन्दी गीत बजायो । त्यसको तालमा केटाकेटीहरु चिच्याएर नाच्न थाले । सायद केटाहरुले रक्सी पनि खाएका थिए । छिनछिनमा एक अर्कासँग झगडा पनि गर्थे । पिटेको आवाज पनि आउँथ्यो । त्यसमध्येको एउटा केटो सबैको लिडर जस्तो भएर कुरा गर्थ्यो । उनीहरुको लागि त्यो रमाईलो थियो, हामीलाई भने उकुसमुकुस भईरहेको थियो । कहिले कोहलपुर आउला जस्तो भयो । मैले खलासी र ती केटाहरुलाई तुलना गरेर हेरें । सायद संस्कार भन्ने कुरा पढेरमात्र नआउने रहेछ ।

बल्ल तल्ल हामी कोहलपुर आईपुग्यौं । भोलिपल्टको कार्यक्रम सक्यौं । मुग्लिनको बाटो बन्द भएको सुनेर हामीले प्लेनको लिएका थियौं । साँझ ६ बजेको टिकट भएकोले हामी नेपालगन्ज घुम्न गयौं । नेपालगन्जमा हामी बागेश्वरी मन्दिर र जुँगे महादेवको मन्दिर गयौं । यो मन्दिर पोखरीको बीचमा रहेछ । पहिलो चोटी मैले महादेवको जुँगा देखेँ । अचम्म लाग्यो । रमाईलो पनि ।

धेरै दिन घर बाहिर भएकोले नेपालगन्जको केही कोसेली लिएर जाउँ भनी स्थानीयलाई नेपालगन्जको विशेष चीज के हो ? भनेर सोध्यौं । एकजनाले ‘राबडी’ भन्ने खानेकुरा हो भने । मिठाई पसलमा गएर सोध्यौं । साँझमा मात्र पाईन्छ भन्यो । साँझसम्म कुर्ने समय थिएन । राबडी खान नपाइने भयो भन्दै हिँडिरहेका बेला मेरा आँखा एउटा पसलमा अडिए । ‘यहाँ राबडी पाईन्छ’ लेखेको थियो । मैले त्यहाँ गएर सोधेँ । राबडी बन्न एकघण्टा लाग्छ भन्यो । हामीले एक घण्टा कुरेर राबडी चाख्यौं । राबडी त खुवाजस्तै पो हुँदोरहेछ ।

राबडी चाखेपछि हामी नेपालगन्जको राँझा एअरपोर्टबाट प्लेन चढेर काठमाडौंतर्फ लाग्यौं ।