यातायातका कर्मचारी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो ।

सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उत्तीर्ण गराउने गरेका थिए । उनीहरुमध्ये तिवारी यही जेठ ४ गते र अन्य ३ जना आइतबार पक्राउ परेका हुन् ।

आयोगले हुम्लाको साबिक मैला र मदना गाविस, हाल ताजाकोट गाउँपालिका– ५ का वडासचिव गोपालचन्द्र लामालाई रु २४ लाख ५० हजार सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ । सचिव लामाले सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको आयोगले जनाएको छ ।