उखेलिएकी मझुवा र कैदमा कालिका

बिहान घाम लागिसकेकै थिएन । धुम्म धुम्मिएको वातावरण । हुस्सुको घुम्टो ओढिरहेकै थियो काठमाडौँ । सधैँ हुस्सुले नै न्याँकिरहन्छ काठमाडौँलाई । म पनि कुहिरोको कागझैँ रनभुल्लमा पर्नेगर्छु कहिलेकाहीँ । यतिबेला पनि रनभुल्ल थिएँ, कोटेश्वरको सडकमा । नजिककै मानिसलाई पनि चिन्न मुस्किल थियो । कुन आफ्नो, कुन बिरानो ।

पावरदार चस्मा लगाउँदै हातेफोन चलाएँ । हातेफोनको अक्षर देख्नु त दुरुह नै छ, खाली आँखाले ।

Tej-prakash-shrestha
तेजप्रकाश श्रेष्ठ

यशुजी, कता तपार्इँ ?

“बुबा ! तपाईँ कता ? खोटाङ जाने बस स्टपमा आउनुहोस् । म पर्खिबसेको छु ।”

यशुको सम्बोधन मिठो लाग्छ । यशु मलाई बुबाकै मर्यादामा राख्न चाहन्छ । मख्ख छु म ।

खोटाङ जाने बस स्टप कता हो खै ? अल्मलिन्छु । यताउता हेर्छु, देख्दिनँ । बस बिसौनी गन्जागोल छ । छोटो र लामो दूरीका बसहरू सराबरी मिसिएका रहेछन्, काठमाडौँका गल्ली गल्छेडाहरूझैँ । नव आगन्तुकका लागि त के, खाँटी काठमाडौँवासी भनाउँदोलाई नै हम्मेहम्मे परेको छ । कुन गाडी कता जाने हो खुट्याउनु कसरी ?

आफुपनि हुस्सु बन्दै धुइँपत्ताल खोजेपछि बिसौनीमात्र हैन यशु र बस दुवैथोक भेटाउँछु । ढुक्क हुन्छ ।

चौहत्तर साल फागुन चार गतेको बिहानी । पाँचबजे हिँड्ने भनेको छ नाघिसकेपछि मात्र यात्रा सुरु हुन्छ । कौशलटारमा यादेवी ढकालजीलाई टिप्छौँ । तीनजनाको क्याराभान सुरु हुन्छ, गफगाफसँगै । नेबासासको पच्चिसौँ राष्ट्रिय सम्मेलनको पूर्व तयारीका लागि खटिएका हामी । प्रमोद सर बिरामी पर्नु भएकोले मरो थाप्लोमा परेको हो यात्रा ।

खोटाङको भूमि टेक्नासाथ बाहुनी डाँडाले मसक्कै मस्केर स्वागत गर्‍यो – खोटाङमा स्वागत छ! अनि रौसिँदै उक्लियो बस, झोलुङ्गे पिङझैँ हल्लिँदै र हल्लाउँदै

दुईसय पैँसठ्ठी किलोमिटर यात्रा तय गर्नुपर्छ खोटाङको सदरमुकाम दिक्तेल छिचोल्न । सार्वजनिक बस यात्रा पनि रोचक नै हुनेगर्छ, थरीथरीका यात्री र चालक–सहचालकको तितामिठा गफ अनि हल्लाखल्लामा । यादेवीजी र उहाँकी ठुली दिदी सुशीला ढकालको धाराप्रवाह गफले हामीलाई अल्छी लाग्नबाट बचाउँछ ।

बनेपा, धुलिखेल, भकुन्डे बेसी हुँदै नेपालथोक पुगेर चियाका लागि रोकिन्छ बस, कुशेश्वर बजारमा । सुनकोसीको किनारामा रहेको कुशेश्वरको टाढैबाट नमन गरेँ । कुनै पनि देवस्थललाई नमन नगरी अगाडि बढ्न सक्दिनँ म । नेपाली संस्कार न हो ।

यात्रा सुमधुर रह्यो खुर्कोट हुँदै अगाडि बढ्दासम्म । खुर्कोटमा रामेछाप, बर्दिवास र खोटाङ जाने सडक बाँडिए आआफ्नो दिशा पछ्याउँदै । सडक हुँइकिइ नै रह्यो पूर्वतिर सुनकोसीको तिरैतिर ।

सिन्धुलीकै भूमिमा दिनको बाह्र बज्यो । समय कहिले रोकिएको छ र !

अहिलेसम्म हामी काठमाडौँ, भक्तपुर, काभ्रे छोडेर सिन्धुलीको भूमिमा रमाइरहेका छौँ । बस एउटा प्राङ्गणमा रोकियो । मकालु होटल एण्ड लजको नामपाटी देखियो सामुन्नेमा ।

लौ पेट पूजा गर्ने बेला भएछ क्यार ! सल्बलाउँछौँ सबै । हामी पेटपूजाकै लागि त भौतारिरहन्छौँ सधैँ । जीवन बाँच्ने मेलोमेसो न हो ।

सुनकोसीको छङ्छङ्सँगै कतिबेला सिन्धुली छोडेर उदयपुर लागिसकेछ पत्तै भएन । घुर्मी पुगेर उदयपुर पनि छोड्यो बसले । सुनकोसी नदीपारि हर्कपुरले ओखलढुङ्गे न्यानो स्वागत बर्साइरहेको थियो ।

हर्कपुरतिरै हो क्यार, मैले तीन दशकअघि यस पावन भूमिमा पहिलोपटक स्पर्श गरेको । त्यतिबेला झोलुङ्गे पुल तरिएको हो, यतै कतै । हर्कपुर टोक्सेलघाट पो भनिन्थ्यो सायद पुल तरेपछिको भूमिलाई । त्यसपछि ठाडै उकालो उक्लिएको थिएँ गोगानेसम्मै । तर, अहिले सरर बसयात्रामा रमाइरहेका छौँ ।

Khotang-yatra-by-Tej-prakash-shrestha

“बुभ्नु भो सर, दुईतीन वर्षअघिसम्म दिक्तेलबाट काठमाडौँ झर्दा र उक्लँदा पाँचपाँच दिन पैदलै हिँडेका थियौँ । अहिले त दैलोमै मोटर पुग्नेभो । हा हा हा” खोटाङ्की छोरी यादेवीको वाचाल वाणी बर्सिरहेको थियो । यशुको मन दृश्यावलोकनमा तुल्बुलिएकै थियो । छचल्किरहेको थियो युवा हृदय सुनकोसीको प्रवाहझैँ ।

एक असुरको कठोर तपस्याबाट खुसी भएका महादेवले ‘जसको टाउकोमा तिम्रो हात पर्छ तुरुन्त त्यो भष्म हुनेछ’ भन्ने वरदान दिएछन् । वरदान पाएपछि त्यो असुर भष्मासुर भयो । त्यसले महादेवको वरदान सत्य हो होइन जाँच्नुपर्‍यो भनी महादेवकै शीरमा हात राख्न खोज्यो

बस उक्लिरह्यो आफ्नै मतापमा हिलेपानी भञ्ज्याङसम्मै । भञ्ज्याङे दोबाटो मुसुक्क हाँस्यो हाम्रो स्वागतमा । भञ्ज्याङबाट एउटा बाटो उँभो लाग्यो, ओखलढुङ्गा ताक्दै । अर्को ओरालो दिक्तेल पछ्याउँदै । बस ओरालियो दुधकोसी हेर्दै । दुधकोसीपारि पो रहेछ खोटाङ ।

खोटाङको भूमि टेक्नासाथ बाहुनी डाँडाले मसक्कै मस्केर स्वागत गर्‍यो – खोटाङमा स्वागत छ! अनि रौसिँदै उक्लियो बस, झोलुङ्गे पिङझैँ हल्लिँदै र हल्लाउँदै । हलेसी बजार मुस्कुराएको देखियो दिनको चार बज्दै गर्दा ।

हलेसीको स्पर्शले मेरो मानस पटलमा विगतको तीनदशक सल्बलायो । उतिबेला सोलुको सल्लेरीबाट पैदलै दिक्तेल हुँदै हलेसी झरेको कसरी बिर्सन सक्थेँ र । त्यसबेलाको हलेसी दर्शन, महादेव गुफा, बासाहा गुफा, रानी पोखरी, मेला लाग्ने फराकिलो चउर, तिब्बेतीयन गुम्बा, अग्लो डाँडास्थित ककनी र एक दुईओटा घरहरू झल्झली सम्झन पुग्छु म ।

परापूर्वकालमा एकपटक एक असुरको कठोर तपस्याबाट खुसी भएका महादेवले ‘जसको टाउकोमा तिम्रो हात पर्छ तुरुन्त त्यो भष्म हुनेछ’ भन्ने वरदान दिएछन् । वरदान पाएपछि त्यो असुर भष्मासुर भयो । त्यसले महादेवको वरदान सत्य हो होइन जाँच्नुपर्‍यो भनी महादेवकै शीरमा हात राख्न खोज्यो र पार्वतीलाई कर्के नजरले हेर्न थाल्यो ।

त्यसपछि महादेव डराएर पार्वतीसहित त्यहाँबाट भाग्न थाले । महादेव पार्वतीसहित भाग्दाभाग्दै यही हलेसीको थुम्कोको फेदीबाट पहाडभित्र पसेर बीचबाटै माथि निस्की अर्को गुफामा पसी पार्वतीलाई एकातिर लुकाएर आफु अर्कोतिर लुकेर बसेछन् । लखेट्दै आएको भष्मासुरले महादेव-पार्वतीलाई नदेखेर फर्केछ । हलेसीमा ठूल्ठूला दुईवटा गुफा छन् । गुफाको उत्पत्तिबारेको किम्बदन्तीसँग टाक्कटुक्क मिल्न खोज्छ हालको अवस्थिति पनि ।

जस्ता र खरको छानो भएका घर सिला खोज्नुपर्ने अवस्थामा पुगिसकेका रहेछन् । क्रङ्क्रिट जङ्गलले ढपक्कै ढाक्न लागेको देखिन्छ । पुरानो बजारका घरदैलाहरू निरीहतामा निस्सासिएर सुस्केरा हाल्दैछन्

मन तुल्बुलिएको थियो हलेसी महादेवको दर्शन गर्न । तर, बस हुँइकियो नागबेली सडकैसडक । पछिका लागि थाँती रह्यो हलेसी दर्शन ।

दिनले बाक्लो कुहिरोको घुम्टो ओढ्न थालिसकेको थियो । अँध्यारिँदै थियो वातावरण । बाटो छेक्न छेक्न खोज्दै थिए धुलो र कुहिरो । बसचालकलाई समेत हम्मेहम्मे पर्दै थियो । बिचरो चालक जोल्टिन सम्हालोस् कि स्टेरिङ ? यात्रुको चित्त बुझावस् कि आफ्नो ?

निर्माणाधीन सडक कहिले धुले पाउडर छर्कँदै त कहिले चिसो सिरेटोले हम्कँदै हामीलाई हौसाइरहेको थियो गन्तव्य भेट्टाउन ।

पाँच बजेतिर थिल्थिलो तनसँगै सकुशल भित्रियौँ दिक्तेल बजार । रत्नपार्क जिल्ल परेर हेरिरहेको थियो हाम्रो आगमनलाई । हामी रोकिएनौँ । सरासर पुग्यौँ होटल शुभदिन ।

“नमस्कार!” न्यानो स्वागत भेट्यौँ, रामविक्रम थापाको । नेपाल बालसाहित्य सम्मेलनका स्थानीय संयोजक रामविक्रम थापाजी हामीलाई नै पर्खिबस्नु भएको रहेछ ।

भोलिपल्टको बिहानीले अझै ल्यायो सफलताका सम्भावनाहरू । बालसाहित्य सम्मेलनका लागि पूरा खोटाङले कम्मर कसिसकेको पायौं ।

दिक्तेल बजारलाई आत्मसात गर्ने यो मेरो दोस्रो अवसर हो । पहिलो वि.सं. २०४० सालतिर थियो । गाउँ पञ्चायतबाट गाउँ विकास समिति हुँदै अहिले नगरपालिका भएर झ्याङ्गिइसकेको रहेछ । चकित हुनुपर्ने कारण देख्दिनँ ।

त्यतिबेला लेखेको रहेछु, “दिक्तेल बजार खोटाङ जिल्लाको सदरमुकाम हो । यो ७६ गाउँमध्येको दिक्तेल गाउँभित्र पर्दछ । यो बजार पूर्व-पश्चिम लम्बिएको, समुद्र सतहबाट करीब छ हजार फिट (१८२८ मि.) अग्लो डाँडाको नाकैमा तेर्सिएर रहेको छ । उत्तरतर्फ ९२९६ फिट (३२३३ मि.) अग्लो रूपाकोट पर्वत, पूर्वतिर लेकाली डाँडा, पश्चिमतिर महाभारत पर्वत शृङ्खला र दक्षिणका देवीस्थानका हराभरा डाँडाहरूले रमणीय तुल्याएको छ । बजारको छेउमै रहेको रत्नपार्कले अझ शोभा बढाएको छ । बजारमा घरहरू धमाधम थपिँदै छन् । जस्ता पाता र खरका छानाले छाइएका घरहरूले बजारलाई सिँगारेको छ । बजारको पूर्वतर्फ करिब पाँच छ हजार फिटको उचाईको डाँडाको टुप्पामा वन देखिन्छ । त्यसै वनभित्र मझुवा नामकी भगवती कालिकाको मन्दिर छ । करिब पौने घण्टाको उकालो चढेर त्यहाँ पुगिन्छ । चढाई शुरु हुने स्थानमा (बजारको पुछार) हाटबजार लाग्ने ठाउँ छ । त्यहाँ प्रत्येक शनिबार ठूलो हाटबजार लाग्छ ।”

Diktel-bazar-by-Tej-prakash-shrestha

अझैपनि सदरमुकाम दिक्तेल नै हो । जस्ता र खरको छानो भएका घर सिला खोज्नुपर्ने अवस्थामा पुगिसकेका रहेछन् । क्रङ्क्रिट जङ्गलले ढपक्कै ढाक्न लागेको देखिन्छ । पुरानो बजारका घरदैलाहरू निरीहतामा निस्सासिएर सुस्केरा हाल्दैछन् । तिनका जोगावटमा लागिपर्ने कोही देखापरेझैँ लाग्दैन ।

‘भो नउक्ल उकालो’ भनिरहेझैँ लाग्थे गोडाले । सास फुलेर बेलुन बन्दै थियो फोक्सो । तर, हिम्मत हरुवा कहाँ थिएँ र म!

बजारको छेउमा रहेको हाटबजार मुसुक्क मुस्कुरायो नानाथरीका घर व्यवहारका सामान फिँजाएर । पहिले शनिबार लाग्ने हाटबजार बुधबार रहेछ । हामीले डाँडाको टुप्पामा रहेकी कालिका भगवतीलाई भेट्ने मसक्कै आँट गर्‍यौँ र उक्लिन थाल्यौँ ।

ठाउँठाउँमा सिँढी चिनिएको रहेछ । पहिलोपल्ट उक्लँदाको जोश अहिले ल्याउन खोजेर कहाँ सकिँदो रहेछ र! ‘भो नउक्ल उकालो’ भनिरहेझैँ लाग्थे गोडाले । सास फुलेर बेलुन बन्दै थियो फोक्सो । तर, हिम्मत हरुवा कहाँ थिएँ र म!

टुप्पामा पुगेर आँखाहरू खोजी गर्दै थिए, मझुवा कालिका भगवती । तर, त्यहाँ कतै देखिएन, दुधिलो र चिन्डेको रुखमुनि रहेकी कालिका । पछि बुझियो, नवनिर्मित छाने शैलीको मन्दिरमा पो कैद गरिएकी रहिछन् । रमाउन सकेन मेरो मन ।

कृत्रिमताले ङ्याकिसकेको रहेछ, मझुवा देवीलाई । बाटोघाटोलाई सुगम बनाउनु आवश्यक हो, हुनुपर्छ । तर, मूलस्थल अर्थात् देवीस्थान नै परिवर्तन गरिनु निको लागेन । बरु स्याहार सम्भार गरेर प्राचीनतालाई जगेर्ना गरिराख्न सक्नु पो गरिमामय हुँदो हो । सबै आधुनिकताको पछि लाग्ने होड चलेको मौसममा बुझिदिने कस्ले ?

मेरो त कालिकासम्बन्धी सोधसाध गर्ने जाँगर पनि सेलायो । यशु भाई तम्सिए, खोजीनीति गर्न । पूजारी बली दिने तयारीमा लाग्दालाग्दै पनि केही कुरा भन्न हौसिए ।

चालिस पैँतालीस ओटासम्म पाठी भाकल गर्ने भक्तालुहरू पनि हुँदारहेछन् । ती पाठीहरू दिनको १२ बजेदेखि २ बजेभित्र बली दिइसक्नुपर्ने परम्परा छ रे । मन्दिर साउन महिना पूरै, सोह्र श्राद्धदेखि कार्तिक पूर्णिमासम्म र फागु पूर्णिमादेखि वैशाख पूर्णिमासम्म बन्द रहन्छ । त्यतिबेला कुनै पूजापाठ हुँदैन । किन ? बताउन चाहेनन् वा सकेनन्, उनै जानुन् ।

होटलमा पुग्दा हाम्रो लागि तयार भएको खाना अरुले नै बुत्याएछन् । ‘दाने दाने मे लिखा हे खानेवालेके नाम’ भनेझैं भयो

पुरानो सम्झनालाई ताजा पार्दै ओर्लन थाल्छौँ हामी । दिनको बाह्र नाघिसकेकोले गणेशजीको वाहन मुसो कुद्न थालिसकेको हुन्छ पेटमा । हतार हतार केही तल रहेको बुधेश्वर महादेवको गुफाको अवलोकन गर्छों । यसमा भने प्राचीनता र मौलिकता अझैँ बाँकी रहेछ ।

होटलमा पुग्दा हाम्रो लागि तयार भएको खाना अरुले नै बुत्याएछन् । ‘दाने दाने मे लिखा हे खानेवालेके नाम’ भनेझैं भयो ।

दिउँसो फेरि दिन धुम्मियो । चिसो बतासको साम्राज्यमा बाहिर निस्कन चाहेनौँ । साँझपख छ्याङ्गै भयो आकाश । निर्धक्क सुत्यौँ हामी ।

बिहानै पाँच बजे उठाउन आइपुग्यो, सुमो चालक । दिक्तेल छोड्दा छ बजिसकेको थियो । जेहोस्, आठ बजे हलेसी महादेवको दर्शन गर्न पाउँदा पाथी भात खाएझैँ आनन्दित भयो मन ।

Hat-bazar-by-Tej-prakash-shrestha