उँधो गए नारानघाट पुगिन्छ!

‘तिमी तारेभीर, म त लहरा…’ यो गीत पहिल्यैदेखि सुन्दै आएको भएपनि पुस २७ गतेसम्म श्रवण मुकारुङले लेखेका हुन् भन्ने थाहा पाउन बाँकी नै रहेछ ।

शब्द, ट्युनिङ र गायिका तीनैथोक यसअघि नै मानसमा थिए । एकाएक त्यता जाने योजना बनेपछि तारेभीरको गीत दोहोर्‍याएर सुनेँ । श्रवणले लेखेको तारेभीर त्यही थियो कि अर्को ? त्योचाहिँ भेटमा सोधौंला । जे होस्, तारेभीर जाने नै भइयो ।

कुमार सरको फोन आयो ।

Tn Regmi
टीएन रेग्मी

‘निस्कनुभयो कि नाइँ ?’

म निस्कने तर्जुमामा छु ।

‘ढिला नगर्नु नि । जोरपाटीमा भेटौं ।’

भेट्ने ठाउँको निर्क्यौल भएपछि मैले ‘हवस्’ भनेँ । दिमागमा तारेभीरको बारेमा अनेक स्केच आए । घोप्टे भीर, बोक्सी भीर, ठाडो भीर, खर भीर, कृष्णभीरदेखि दमिनी भीरसम्म यावत् भीरका कथा-कहानी मथिङ्गलमा भरिए । जोरपाटी हुँदै जाँदा तारेभीर पुगिने रहेछ । निचोडमा योभन्दा बढी केही आएन ।

भान्सातिर पसेँ । खाना पाक्नै बाँकी रहेछ ।

आफुले निरन्तर गरिरहेको काम र घुमघाम, मलाई यी दुई विषयमा खानाको मामलाले डिस्टर्ब गरेको मनपर्दैन । खाना नपर्खिने निधो भयो ।

जोरपाटी हुँदै जाने, एक घण्टाजतिमा पुगिने । तारेभीर उपत्यकाकै किनारको कुनै पहाडमा छ । राजधानीको चौघेरो उतिसारो विकट छैन । यस्तै तर्कना भयो ।

हिँड्ने बेलामा एकाएक फुरेको ‘आइडिया’ मुताबिकको पहिरनमा म तारेभीरतर्फ हानिएँ । बत्तीसपुतली एरियामा मेलम्ची पानीले उडाएको धुलोको फेला परियो । पहिरनको इज्जत गौशाला चोक कट्नसम्म पाएन!

कार्यक्रमको विस्तृत जानकारी नभए पनि हामी यौटा औपचारिक कार्यक्रमको लागि जाँदै थियौं । तर, जानु थियो जोरपाटी हुँदै । मलाई एकाएक सुकिलो ज्याकेटको माया लाग्यो । जाडो याममा साइत जुराएर धोएको ज्याकेट जोरपाटी नपुग्दै नयाँ-पुरानो, धोए-नधोएको कसैले भेउ पाउने अवस्था हुनेछैन । माटोको रङ्गले भरिनेवाला छ ।

आज मैलोचाहिँ ज्याकेट लगाएर गएपछि त्यो धुने ‘क्यु’मा जान्छ । र, सुकिलोचाहिँ अरु दुईचार दिन लगाउन पाइन्छ । क्या गजब आइडिया!

जीउमा उनिसकेको ज्याकेट उतारेर अर्को लगाएँ ।

हिँड्ने बेलामा एकाएक फुरेको ‘आइडिया’ मुताबिकको पहिरनमा म तारेभीरतर्फ हानिएँ । बत्तीसपुतली एरियामा मेलम्ची पानीले उडाएको धुलोको फेला परियो । पहिरनको इज्जत गौशाला चोक कट्नसम्म पाएन!

मित्रपार्कबाट ‘थोरै धुलो र थोरै जाम’वाला तल्लो बाटो रोजेर जाँदै गर्दा गुहेश्वरी मन्दिर पारीको बाटोमा यौटा ट्रिपरले अघि जानै दिएन । एकडेढ किलोमिटर उसकै पछिपछि जाँदा हुलिया पुरै बदलियो ।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रनेरबाट भर्खरै बाटोमा पानी पोख्दै यौटा ट्याङ्कर पीपलबोटतिर लागेको देखियो । उप्रान्त ट्याङ्करले हिल्याएको बाटोमा अरु सवारी कुँद्ने उपक्रममा उछिट्याएको हिलोले मेरो हुलिया पुन: बदलियो । बाटोले फेरि नयाँ ‘आइडेन्टिटी’ दियो ।

ज्याकेट बदल्ने आइडिया सम्झेर एक्लै मुस्कुराउन मन लाग्यो ।

करिब एघार बजे गोकर्णेश्वर नगरपालिकाको अफिसनेर कुमार सरसँग भेट भयो । एकैछिन अरु सहभागीलाई पर्खियौं । चिया खाने सल्लाह भयो । मेरा आँखाले तन्दुरी रोटी पनि खान पाइने ठाउँ खोजे । तर, भेटिएन ।

आधा बाटोमा पुगेपछि सजिलो खोज्नु, पछाडि फर्कनु र गन्तव्यमा पुग्नु हरेक विकल्प उत्तिकै असजिलो हुँदो रहेछ

चियापसल भन्दा छ्याङ् र तोङ्वावाला सजिलो गरी भेटिने रहेछन् । जेहोस्, चिया भेटियो । मैले रोटीमा जोड गरिनँ ।

कुमार सरले खानाको विषय कोट्याउनु भएन । त्यो समय खाना नखाइ घरबाट निस्कने समय होइन । त्यसैले मैले पनि केही भनिनँ ।

अरु सहभागीहरु आउन केही समय लाग्ने खबर आयो । हामीलाई ढिलो पुगेपनि छिटो फर्किनु थियो । आफ्नै सवारी लिएर जाने सल्लाह भयो । त्यसो गरे आफुखुशी भाग्न पाइने सत्यले दुईजना यौटै सवारीमा जाने निधो गर्न सघायो ।

‘तपाईँकै घोडा लिएर जाउँ’, उहाँले भन्नुभयो ।

किन ?

मेरोभन्दा तपाईँकै साधन तन्नेरी छ ! फेरि हामीले उकालो चढेर जानु’छ ।

फिस्स हाँस्दै बिस्तारै भन्नुभयो, ‘आज मसँग पोथी सवारी छ ।’

अब तारेभीर जाने सवारी साधन मेरो भयो । बाटो थाहा भएर होइन । भीरको नाम सुनेपछि नै मलाई कसोकसो लागेको थियो । तैपनि त्यहाँ विकल्प थिएन ।

हामी तारेभीरतिर लाग्यौं ।

अलिपर पुगेपछि एकजना पसलेलाई तारेभीर जाने बाटो सोध्यौं, ‘यही हो’ भन्ने उत्तर आयो । तर, बाटो भने पहाडतिर गएजस्तो लाग्दैनथ्यो । एक दुई थुम्काहरु । ती थुम्काको चढाइसम्म उकालो । फेरि अलिकति ओरालो । टारजस्तो ।

दुईचार किलोमिटर यसैगरी हिँडेपछि नागबेली बाटो देखियो । यौटै पहाड घुम्दै उकालो लागेको ।

उँधो गए नारानघाट पुगिन्छ । माथि कता जान्छ था’छैन । म ग’को छैन”, ४०/४५ वर्षकी जस्ती लाग्ने दिदी लजाउँदै बोलिन्

पहाडको फेदीमै अलिकति हिलोसहित खाल्डाखुल्डी भएको बाटो रहेछ । त्यहीँनेर पुग्दा एकजना स्थानीयजस्तो लाग्ने युवक मोटरसाइकलमा अघि लाग्यो । १ फिटजति पानी जमेको ५/७ मिटर बाटोले उसको ‘पल्सर’को सातो लियो । अब त्यही बाटो जाने पालो हाम्रो थियो ।

ड्राइभरमात्र बसेर बडो सारसँग अप्ठेरो कटियो । त्यससँगै आवश्यकता अनुसार दुईमध्ये एकजना यात्रु झरेर हिँड्ने उपक्रम सुरु भयो ।

अलिक माथि पुग्दा बाटो मिलाउँदै गरेको एक्जाभेटर भेटियो । उसले आफ्नो काम एकैछिन रोकेर हामीलाई जान दियो । त्योभन्दा माथि ट्रिपर देखियो ।

हामीले सुनेका थियौं, तारेभीरको स्कुलमा ठूलो साइजको नेपालको झन्डा राखिएको छ । हामीलाई त्यही स्कुलमा पुग्नु थियो । पहाड चढ्न थाल्नुअघि कम्तीमा आधा घन्टामा पुगिने जानकारी मिलेको थियो ।

धुलाम्मे बाटो । एक्जाभेटर र ट्रिपर त्यहीँ काममै थिए । हामी बिस्तारै उकालो लाग्यौं । एक्जाभेटरदेखि अलिकति माथि पुग्नेबित्तिकै टायरले ट्रयाक छोड्यो । मोटरसाइकलको उल्टो गुड्ने कोसिस खुट्टाको भरमा टर्‍यो ।

एकफिटसम्म धुलोले ढाकिएको बाटो । अन्दाजको भरमा यात्रा गर्दा भुसको थुप्रोमाथि हिँडेजस्तो अनुभुति हुन्थ्यो । कतै ट्रिपरले बनाएको ट्रयाक भेटिन्थ्यो र त्यसलाई नाघ्नुपर्थ्यो । कतै त्यही पनि भेटाउन मुस्किल ।

जेहोस्, यसपालि चिप्लिनु परेन । पल्टिनु पनि परेन । धुलोमा लुटपुटिनु पर्ने संयोगबाट एकपटकलाई बँचियो । चारवटा खुट्टाको बलले हामी अडियौं ।

बाटो, सवारी र अनुभवको तालमेल भैरहेको थिएन । तैपनि माथि पुग्नु नै थियो । झन्डावाला स्कुल र आयोजकहरु कुरिरहेका थिए । हामी फेरि अघि बढ्यौं

‘झन्डा भएको स्कुल’सम्मका यात्री । हामी अघि बढ्नु नै थियो । एकजनाले मात्रै बडो सन्तुलनसँग सवारी अगाडि बढाएपछि अलि सजिलो धरातल आयो । रोकेर दोस्रो यात्रु चढाएपछि अघि बढ्नै मानेन । फेदीको हिलोदेखि नै सुरु भएको हिँड्ने उपक्रम दोहोरियो ।

बाटो बनाउनका लागि ढुङ्गा ओसार्दै गरेको ट्रिपरसँग भेट भयो । गुरुजीले असजिलो बाटो किन आएको ? भनेर सोधे । हामी बीचबाटोतिर पुगेको बताए । बल्ल थाहा पाइयो, तारेभीर जाने सजिलो बाटो पनि रहेछ!

आधा बाटोमा पुगेपछि सजिलो खोज्नु, पछाडि फर्कनु र गन्तव्यमा पुग्नु हरेक विकल्प उत्तिकै असजिलो हुँदो रहेछ ।

तल बेसीमा सोही कार्यक्रमका सहभागीहरु आएको गाडी देखियो । त्यहीबीचमा अर्का युवा मोटरसाइकलमा उकालो लागे । उछिन्ने उपक्रममा तिनले भने, ‘तारेभीर नै होला क्यारे! आउँदै गर्नुस् है ।’ आज्ञाकारी बनेर ‘हवस्’ भन्यौं । पछि थाहा भयो, उनी आयोजकमध्येकै रहेछन् ।

बेसीबाट उकालो लाग्ने तर्जुमामा रहेको बस हेर्दाहेर्दै साइड लाग्यो । सबैजना झरे । मनमा चिसो पस्यो, अब ती सबैजना हिँडेरै उकालो लागेमा कार्यक्रम एकडेढ घन्टा ढिलो सुरु हुनेछ ।

बाटो, सवारी र अनुभवको तालमेल भैरहेको थिएन । तैपनि माथि पुग्नु नै थियो । झन्डावाला स्कुल र आयोजकहरु कुरिरहेका थिए । हामी फेरि अघि बढ्यौं ।

अर्को एक किलोमिटरजति धुलाम्मे बाटो जसोतसो काटिएछ । मोटरसाइकल एकाएक धुलोको रासमाथि कुँदेको आभास भयो । टायर कता पुग्यो अन्दाज भएन ।

एकफिट हाराहारी धुलो भरिएको हुनुपर्छ । सन्तुलन गुम्यो । सवारी थाम्न भुइँमा झरेका खुट्टासमेत कति गहिराइमा पुगे हेक्का भएन । जे होस्, यसपालि पनि धुलोमा लुट्पुटिनु परेन ।

दुई नम्बर सिटको यात्रु झरेर ठेलेपछि सवारी अघि बढ्यो । फेरि एकपटक धुलोको साम्राज्य पार भयो । दुईजना बस्नेबित्तिकै साधनले डेग चल्न मान्दैनथ्यो । एकजना पसिना काढेर हिँड्नुपर्ने भयो । आखिर हामी ‘झन्डा भएको स्कुल’ पुग्नु नै थियो । बीचबाटोमा पुगेर फर्किनुको के मजा?

झन् अनकन्टारमा पुगिएछ । न पैदल हिँडेको साथी देखियो, न बेसी । अगाडि छ भनिएको तारेभीर र स्कुल पनि देखिएन । यो त यात्राको ठीक तरिका भएन!

जबरजस्ती दुईवटा मोड पार गरी माऽऽथि घुम्तीमा पुगेर रोकिएपछि तारेभीर देखियो । स्कुलमा राखिएको झन्डाको टुप्पो देखियो । असिनपसिन हुँदै पैदल हिँड्ने साथी पनि देखियो ।

गन्तव्य कम्तीमा दुई किलोमिटर दुरीमा थियो । केहीबेर पर्खिएपछि दुईजनाको भेट भयो । उकालोमा परेपछि पुसमासकै घामले पनि अत्याउने रहेछ ।

बेसीबाट आउँदै गरेको बस पनि उकालो लागेछ ।

एकजनाले बस पर्खने, एकजना अघि बढ्ने सल्लाह भयो । त्यहाँबाट हेर्दा पारी डाँडामा यौटा हरियो रङ लगाएको घर थियो । त्यही घरबाट क्षितिजीय कोणमा झन्डा देखियो ।

फेरि एकपटक धुलोको साम्राज्य पार भयो । दुईजना बस्नेबित्तिकै साधनले डेग चल्न मान्दैनथ्यो । आखिर हामी ‘झन्डा भएको स्कुल’ पुग्नु नै थियो । बीचबाटोमा पुगेर फर्किनुको के मजा?

त्यो घरसम्म पुग्न अलिक सजिलो भयो । तर, त्यहाँ पुगेपछि झन्डातिर सोझिने बाटो देखिएन । बाटो गाउँतिर नछिरी उल्टोतर्फ मोडिएको थियो, निकै परसम्म । त्यही बाटो जाँदा झन्डासम्म पुगिन्छ वा पुगिँदैन अन्योल भयो ।

त्यत्तिकैमा कुमार सरले बस पर्खिरहेको घुम्तीभन्दा तीनचार मोड तल धुलो उडेको देखियो । त्यो धुलो उडाउने सवारी बस नै थियो । कुमार सरलाई फोनबाट रिपोर्टिङ गरेँ ।

बाटो स्कुलसम्म पुग्छ कि पुग्दैन ? हिँड्नैपर्ने अवस्थामा त्यही हरियो घरनेर सवारी छोड्नु जाती हुने अवस्था थियो । म अलमलिएँ । २/३ सय मिटर अगाडि बाटोमाथि आँगनछेउमा बसेर केही काम गरिरहेकी महिला देखेँ ।

त्यहाँ पुगेर उनीसँग सोधेँ – दिदी, यो बाटोबाट स्कुलसम्म पुगिन्छ ?

“कुन स्कुल ?”

तारेभीरको स्कुल । झन्डावाला स्कुल ।

“कुन्नि !”

अर्को बाटो छ र ? फेरि सोधेँ ।

” था’छैन । उँधो गए नारानघाट पुगिन्छ । माथि कता जान्छ था’छैन । म ग’को छैन”, ४०/४५ वर्षकी जस्ती लाग्ने दिदी लजाउँदै बोलिन् ।

माझ्दै गरेको माटे कराही र लोटा लिएर उनी घरभित्र पसिन् । म जिल्लिएँ ।

आँखाले भ्याउने ठाउँसम्म अर्को कोही देखिएन । म चुपचाप अघि बढेँ । ५०० मिटरजति बाटो हिँडेपछि तीनजना पुरुष भेटिए । उनीहरु महोत्सवको लागि गेट बनाउने ध्याउन्नमा थिए । ‘बाटो त्यही हो’ भन्ने जानकारी तिनैले दिए ।

त्यहाँबाट अघि बढेपछि उकालोको अन्तिम मोड आयो । त्यसपछि केही तेर्सो र ओरालो बाटो झन्डा भएको स्कुलको ठीक तल पुगियो ।

आफुले पार गरेको बाटोतिर हेरेँ । बस हरियो घरबाट उकालो लाग्दै थियो । बस त्यहाँ आउनुअघि नजिकैको पसलमा यौटा जुस र केही चकलेट किनेँ । बिहानको खाना र खाजा त्यही भयो ।

केहीबेरपछि बस आइपुग्यो । हामी कार्यक्रम स्थलमा पुग्यौं ।

ठूलो साइजको राष्ट्रिय झन्डा फहराइरहेको, तारेभीर प्राविको प्राङ्गणमा बेन्चहरु लहरै मिलाएर राखिएको । त्यहाँ पुगेपछि एकाएक मन आनन्दित भयो । अघिको सास्तीको हिसाब बाँकी रहेन ।

अतिथिहरुलाई स्वागत गर्नेक्रम चल्यो । राष्ट्रिय झन्डाको ‘मिनिएचर’, लालुपातेको फूल र धुपीसल्लासहितको पुष्पगुच्छा र खादासहित सबैको स्वागत भयो । अघि बीचबाटोमा भेटिने व्यक्ति आयोजकमध्येकै रहेछन् । प्रलेस काठमाडौं जिल्ला कार्यसमितिको संयोजनमा तारेभीरमा घुम्ती कवि गोष्ठीको आयोजना भएको रहेछ ।

केहीबेरको औपचारिक कार्यक्रमपछि साहित्यिक कार्यक्रम सुरु भयो । हामी भने कार्यक्रम सकिनुअघि नै हिँड्ने सुरमा थियौं । त्यसैअनुरुप सजिलो बाटोबारे सोधीखोजी गर्‍यौं । स्थानीयहरुले ‘नारानथान’को बाटो सजिलो र छोटो भएको जानकारी दिए ।

तारेभीरबाट उँधो लागेपछि नारानथान पुगिने रहेछ । हामी त्यतै ओरालो लाग्यौं ।