मर्दी ट्रेक-२ : बेस क्याम्पबाट रित्तै फर्केिनुपर्‍यो

Kabita-Sapkota
कविता सापकोटा

११ बजे बादल डाँडामा आइपुग्नु, बादल र कुहिरो फिँजारिनु एकैसाथ भयो ।

अनि के भयो त ?

हामीले हिमाल देखेनौँ । चितवनका केटाहरूले वरिपरि हिमालै हिमाल देखे रे । हामीले उनीहरूका कुरा सुनेर डाह गर्‍यौं । अनि चुकचुकायौँ । मानौं, हिमाल पग्लिएर ढुङ्गामात्र बाँकी रहेको छ, हाम्रो भागमा ।

बादल डाँडापछि हामीले मुस्किलले कतैकतै डाँडाकाँडा देख्न पायौँ । तर, परपरसम्म होइन । यहीं नजिकै । त्यही पनि स्पष्ट होइन । मैले के लेखिरहनुपर्छ र! तिमी आफै अनुमान लगाउन सक्छ्यौ ।

हामी हाइ क्याम्प १ बजे आइपुग्यौँ ।

आजपनि हामी आइपुग्नु र पानी पर्न थाल्नु एकैसाथ भयो । एक सेकेन्डले हामी बचेका हौँ । नत्र भने राम्ररी चुटिने थियौँ ।

सबैकुरा अन्धाधुन्ध छ, यहाँ । हामी कस्तो भूगोलमा छौ ? केही पत्तो छैन । हाम्रा वरिपरि सेतै कुहिरो फिँजारिएको छ । एकदम गमदार भएर बसेको बस्यै एसएलसीको जाँचमा बसेको गार्डजस्तो ।

सारै अल्छी लाग्दो हुनेरहेछ यस्तो मौसम । यस्तै हेर्दाहेर्दा हो कि मलाई छाद्न आउला जस्तो भयो । उकुसमुकुस भयो । त्यसैले म दक्षिणतिरको झ्यालबाट बाहिर निस्किएँ । सिकर्मी दाइ राजु क्षेत्री टेबुल बनाइरहेका थिए । मैले पनि ह्यामरले किला ठोकेँ ।

अहिले त्यो टेबुल तयार भइसकेको छ । त्यसमा चितवनका केटाहरूले अड्डा जमाएका छन् एकातिर, अर्कोतिर लाक्पा दाइ छन् । मेरो टेबुलको पल्लो छेउमा एक जोडी तास खेलिरहेका छन् । फ्रान्सेली केटो, स्वीस केटी ।

पाँच महिनाअघि उनीहरूको पहिलो भेट न्युजिल्यान्डमा भएको थियो रे । अहिले उनीहरू नेपाल आएका छन् । तर, जब उनीहरू घर फर्किनेछन्, उनीहरू आआफ्नै देश फर्किनेछन् । अनि आआफ्ना परिवारसँग बस्न थाल्नेछन् । अहिले त अमृत पनि उनीहरूसँगै खेल्न थालिसकेको छ । सुबिकु नजिकै बसेर हेरिरहेको छ ।

pic-11

हामीले बेलुकाका लागि पिज्जा र भात अर्डर गरेका छौँ । तर, मलाई खानेकुरा खाने रहर छैन । हामी भात खाने ठाउँमा छौँ । अगाडि दाउरे हिटर छ । त्यसले बाहिरबाट पस्ने चिसोको सातो लिइदिएको छ । राती पो कसरी सुत्ने होला । म सुत्ने कोठा त भर्खरै तयार भएको जस्तो छ । भुइँ भर्खरै ढलान गरिएको छ । त्यसैले पानी पलाउने सिमसारजस्तै देखिएको छ । तिमी तिलिचो र अन्नपूर्णका घर सम्झेउली । यी होटेल त बन्दै छन् ।

एउटा खच्चडको मुल्य ७०,००० रुपैयाँ । त्यसले खच्चडले ७० किलो बोक्छ । बोकेर माथी ल्याइएका सामानमा २५ रुपैयाँ थपिन्छ । त्यसैले ६० रुपैयाँ किलोको चामल यहाँ ल्याइ पुर्‍याउँदा ८५ रुपैयाँ पर्ने रहेछ । सुबिकुको हिसाब किताब । यति थाहा हुँदाहुँदै पनि उनीहरू बेलाबेलामा मँहगो भयो भनिरहन्छन् ।

काठमाडौँमा पनि त बाटैका रेस्टुरेन्टमा ठोकीठोकी पैसा लिन्छन् । जबकी त्यहाँ केही पनि त्यतिविघ्न परिश्रम गरी ल्याइएका हुँदैनन् । यतिबेला म त सर्कलबाट पुरै बाहिरिएको जस्तो अनुभव गरिरहेकी छु । एउटा हुल तास खेलिरहेको छ । सुबिकु र अमृत त्यसैमा छन् । अर्को टेबुलमा दुई नेपाली केटी थपिएका छन् । चितवनका तीन केटा, लाक्पा दाइ र अर्को नेपाली ट्रेकर झ्वाइखट्टेमा व्यस्त छन् ।

त्यसैले म चुपचाप छु । कसका गतिविधि हेर्नु ? कहिले तासको टेबुलतिर आँखा तन्काउँछु, जसमा म पनि छु । कहिले मेरो देब्रेतिरको टेबुलमा हेर्छु । एउटी नेपाली केटी उसको प्रेम कथा बेलायती केटीलाई सुनाइरहेकी छे ।

म तिमीलाई ३५५० मिटर माथिबाट लेखिरहेकी छु । हिमाल हाम्रै आँखा अगाडि छ रे । यो हल्लामात्र पनि हुन सक्छ । किनभने अहिले सेतो हिमाल होइन, सेतो कुहिरोमात्र देखिएको छ ।

यहाँबाट पोखरा नजिकै देखिँदो रहेछ । अहिले अलिकति खुलेको छ । त्यसैले बिजुली बत्तीमा पौडी खेलिरहेको पोखरा स्पष्टै देखिएको छ ।

भोलि बिहान ५:३० बजे मास्तिर लाग्ने निधो भएको छ । त्यसैले चाँडै उठ्नु छ ।

 

१९ असोज

रातभरि पानी परेन । अहिले पनि परेको छैन । तर, खुलेको पनि छैन । माथिमाथि बादल छ । तल एउटा सानो पोखरी जति क्षेत्रफल खुलेको छ ।

चितवनका केटाहरूले मध्य रातमै हल्ला गरेर मलाई कहाँ सुत्न दिए र ।

६ बजे हिँडेका हामी १० बजे मार्दीको टुप्पोमा पुग्यौँ । देख्नु, सुन्नु रामाराम । देख्ने भनेको कुहिरो ।

हामी बिहानभरि चुइँचुइँ हिँड्यौं ।

एउटा पहाड सकियो । फेरि अर्को पहाड सुरु भयो । त्यस्ता पहाड कति चढेँ कति । त्यो पहाड त पक्कै पनि मार्दी बेस क्याम्प होला । तर, होइन रहेछ । म निकैपटक भ्रममा परेँ । वास्तवमा क्षितिज भनेको भ्रम नै हो रे, मैले कतै पढेको ।

आज सुबिकु अगाडि अगाडि हिँड्यो । वास्तवमा ऊ आज निकै हतारिएको थियो । आँखाभरि हिमाल हेर्न । ब्याट्री नसकिउन्जेल फोटो खिच्न ।

माछापुच्छ्रे र अन्नपूर्ण खोज्दा खोज्दै हामीले कुहिरोपछि कुहिरोमात्रै देख्यौँ । हिमाल देखेनौँ ।

केही बेर त घाम र बादल दुवैले झुक्याए । अन्तिममा बादल र कुहिरोकै जित भयो । अनि उनीहरूको झगडा हामीले दर्शक भएर हेर्‍यौं ।

हामीले ४५०० मिटरमाथि पाइला टेक्नु र पानी पर्न थाल्नु एकै भयो आज पनि ।

प्लाष्टिकले काम नगर्दो रहेछ । ओरालो झर्ने बेलामा कम सास्ती भएन । अगाडि सबै भिज्यो । हावाले प्लाष्टिक उडायो । टाउकोमा समाउँदा कुहिनैसम्म ज्याकेट र स्विटर भिज्यो । हात ठिहिर्‍यायो ।

अमृत उकालोमा चितुवा, ओरालोमा गैँडा । कति ठाउँमा त ऊ चिप्लेटी खेल्दै खुट्किला ओर्लियो । बाबियोजस्तो देखिने घाँसका झाम्टा समाउँदै । त्यसैले त पछि उसका नाडी वरिपरि अड्डा जमाइरहेका केही जुका भेटिए । उसको रक्ताम्य नाडी र ढाडिएका जुका देखेर म जिरिङ्ग जिरिङ्ग भएँ ।

यो बाटोको दायाँ बायाँ ठूला ठूला खोल्सा छन् । हामी बीचतिर उठेको धारिलो पहाडमा हिँड्छौँ । निकै कठिन । उकालोमा त केही होइन । ओरालोमा चाहिँ तिलिचो जाँदा गेगरिनको बाटोमा चार हात-पाउ टेकेर ओर्लिएजस्तो । त्यहाँ त्यतिधेरै त्यसरी हिँड्नु परेन । भलै गेगरिनको साँघुरो बाटो लामै थियो । यहाँ त अघि नाक ठोक्काएर चढेको उकालो अहिले पुठ्ठो घिसारेर ओर्लिनुपर्ने ।

सायद पानी परेर पनि होला । म निथ्रुक्कै भिजेकी थिएँ । जसै म फिसटेल आइपुगेँ । लाक्पा दाइले ताली पिटे । बाफ रे! मैले कस्तो अनुभव गरेँ हुँला ।

आएर भिजेका लुगा ओभनमा सुकाएँ । हिलाम्य भएको सुरुवालचाहिँ बाहिरै झुन्ड्याएँ ।

चितवनका केटाहरू बाटैबाट फर्किएछन् । र, आजै तल झरेछन् । वास्तवमा हामीले आजै यो ठाउँ छोड्ने निर्णय गरेका थियौँ । तिमीलाई सुबिकुले फोन पनि गरेको थियो (मेरो आग्रहमा) । किनभने मेरो टाउको फुट्लाजस्तै गरी दुखेको थियो । म दाउरे हिटर अगाडि हातले टाउको अड्याएर निहुरिएकी थिएँ । लहरे फोन टाढा थियो ।

आखिर हिँड्ने नै भएपछि बाहिरबाट सुरुवाल ल्याएर लगाएँ । तर, फेरि पानी पर्‍यो । तिमी पनि यहाँ भइदिएको भए कस्तो रमाइलो हुन्थ्यो हगि? पानी परिरहेको छ । यहाँ घाम लाग्नु र गरिबले सुन देख्नु उस्तै उस्तै रहेछ । एकदम बिरलै । अथवा लगभग असम्भव ।

‘खुट्टालाई त दु:ख हुनु नै थियो,  भयो । आँखालाई समेत दु:ख भयो’ सुबिकुले फर्किरहँदा यसो पो भन्यो । हुनपनि माछापुच्छ्रे र अन्नपूर्ण खोज्दा खोज्दै हामीले कुहिरोपछि कुहिरोमात्रै देख्यौँ । हिमाल देखेनौँ ।

मार्कले मलाई The Absolutely True Diary of Part-Time Indian दिएका छन् । पढिसकेर फिर्ता गर्ने वाचासहित । मार्क लाक्पा दाइका पाहुना हुन् ।

पानी परिरह्यो । हामी यतै थन्कियौँ । हामीले खुल्यो भने भोलि फेरि ४५०० मिटर पुग्ने निर्णय गरेका छौँ ।

लाक्पा दाइ हिजोदेखि नै खास मौसम पर्खिरहेका छन् । उनी उडेर पोखरा झर्ने सुरमा छन् । तर, मैले अघिनै भनेँ नि, यहाँ घाम लाग्नु भनेको गरिबले सुन देख्नु बराबर हो ।

pic-8

प्रवचन सिंह त लाक्पा दाइका साथी पो रहेछन् । थाहा छ, तिमीलाई को हो प्रवचन ? श्रीमती, सन्तान र धनसम्पति छोडेर पशुपतिमा जोगी हुन गएका आधुनिक बुद्ध । बुद्ध यसअर्थमा उनले पनि भएको सांसारिक सुखसयल छोडेर सन्यासी जीवन रोजेका छन् ।

अहिले लगभग बेलुकाको १०:३० बजेको होला । यो मेरो कामचलाउ अनुमान मात्र हो । यतिबेला माथि बाटोमा कुकुर कराइरहेको छ । हिजो चितवने समुह बसेको कोठामा आज पोखरेली समुह छ । थाहा छैन, आज कति हल्ला गर्छन् उनीहरू ।

खुल्यो भने भोलि फेरि हिमाल हेर्न टुप्पैमा गइनेछ । यतिचाहिँ पक्का हो ।

म पहिला पहिलाका यात्रामा नेपाली केटी भेट्दैनथ्यौँ । यो ट्रेकिङमा चाहिँ केही नेपाली केटीहरू भेटिए । ज्यादै नौलो अनुभव भन्नु यति नै हो ।

थाहा छैन सुबिकुले पहेँलो रङलाई किन घृणा गर्छ भन्ने, तर बाटैभरि उसले लौराले हानी हानी भुइँफूलको अस्तित्व मेटाइदियो । विशेष गरी ती पाँचपत्रे पहेँला फूलको । अनि पानी जमेका साना साना खाडलको पनि लौरोले हानी हानी सात्तो लिइदियो । पानी धमिल्यायो । उसले शीत जमेका त्यान्द्रा पनि देखिसहेन र छताछुल्ल पोखिने गरी हिर्कायो ।

लाक्पा दाइ खाना खाने कोठामा घुरिरहेका छन् ।

बाहिर घण्टी बजिरहेको छ । सायद कुकुरको घाँटीको घण्टी होला । सबैतिर सुनसान छ । बाक्लो कुहिरो लागेको छ । भोली खुल्छ, खुल्दैन थाहा छैन । यो वाक्य लेखी नसक्दै पानी परेर जस्ता बज्न थालेको छ ।

 

२० असोज २०७३

रातभरीमा ५० झर जति पानी झर्‍यो । यसको मतलब, आकाश खुलेन । अहिले त झन बाक्लिएको छ पानी । अब कसरी तल झर्नु ? मसँग त बर्षादी पनि छैन ।

बिहानको खाजा खाइनसक्दै सुबिकु सुत्न गयो । अब यही रफ्तारमा थप १ दिन पानी पर्यो  भने हिउँ पर्छ । पानी चिसिसकेको छ । होटेलका मालिक राजु दाई पनि यस्तै अनुमान लगाउँछन् । पानी झनझन बाक्लिदै छ । तै पनि ११ बजे लाक्पा दाइ र मार्क सँगैजसो हामी पनि तलतिर लाग्यौँ ।

बाटो त रोपाइ गर्न ठिक्क पारिएको खेतजस्तो । नरम र चाम्रो हिलो । जुका सुँड ठड्याउँदै ‘हेलो’ ‘हेलो’ गरिरहेका थिए ।

सिदिङ पुग्नै लाग्दा त मलाई जुकाले रुवाए नै । सुबिकु चार पाइला तल झरिसकेको थियो । ऊ फर्किएर आयो । मेरो पाखुरा नाप्दै गरेको जुका बुढीऔंला र चोरऔंलाले गुच्चा हानेजसरी हानेर उसकै गृह जिल्ला पठाइदियो । हामी ६ घण्टा ओरालो झरेर ५ बजे सिदिङ आइपुग्यौँ ।

 

***

मार्दी बेस क्याम्पबाट रित्तै फर्केको साँचो हो ।

आज आकाश खुलेको छ ।

सात बज्यो । चिया खाएँ । सम्योग कस्तो भने भैंसीको सन्तान जन्मिएको उपलक्ष्यमा हामीले बिगौती पनि खान पाइयो ।

तिमी र म पहिला पहिलाका यात्रामा नेपाली केटी भेट्दैनथ्यौँ । यो ट्रेकिङमा चाहिँ केही नेपाली केटीहरू भेटिए । ज्यादै नौलो अनुभव भन्नु यति नै हो ।

आज त म काठमाडौँ आइपुग्छु । (२१ असोज २०७३)

यो पनि पढ्नुहोस्,

मर्दी ट्रेक: बाटोभरि पिसाब बोकेर हिँड्नुको विकल्प थिएन