गाउँसहरको दरबार

‘गाउँ र सहर दुवैको दरबार भएकाले गाउँसहरको दरबार भनिएको होला ।’ शीर्षक पढ्दा यस्तो अनुमान पनि हुन सक्छ । तर, यो दरबार रहेको स्थानको नाम नै गाउँसहर हो । ऐतिहासिक, धार्मिक अनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गाउँसहरको दरबारबारेमा बुझ्ने हुटहुटी र चर्को रहर चल्यो मनमा । त्यसैले पहाडको चुचुरोलाई ठाडो मुन्टोले दर्शन गर्दै, खरखरे भीर र पाखामा पाइला चाल्दै, ओसिलो माटोको गन्धमा रमाउँदै, हरियालीलाई मनैले छुँदै कलाकार राजकुमार प्रजापति र म लाग्यौँ, गाउँसहर दरबारतर्फ ।

यशु श्रेष्ठ
यशु श्रेष्ठ

लमजुङ जिल्लाको गाउँसहर, समुन्द्री सतहदेखि १३७८ मिटरको उचाइमा पहाडको ठ्याक्कै चुचुरोमा रहेछ । माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लुलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने । लमजुङ जिल्लाको सदरमुकाम बेशीसहरदेखि ७ किमि दक्षिणतर्फ रहेको गाउँसहरमा पुग्न मन हतारिएको थियो । त्यसैले रमाउँदै उकालो लागियो ।

थोरै थोरै शान्त बस्ती र धेरै जङ्गलै जङ्गलको उकालै उकालो रमाइलो गोरेटो बाटो छिचोलेपछि गाउँसहर दरबार पुगियो । लक्ष्य चुम्न डेढ घण्टाजति समय लागेको घडीले बतायो । रानीकुवा भन्ने स्थानबाट गाडीमा पनि जान पाइँदो रहेछ । गाडीलेचाहिँ आधा घण्टामै पुर्‍याउने सम्भावना हुँदो रहेछ तर गाडीको यात्राभन्दा गोडाको यात्राले रौस दिने लाग्यो । हामीले यही नै रोज्यौँ ।

प्राकृतिक सुन्दरतालाई नियाल्दै अनि रमाउँदै दरबारको छेऊमै पुगियो । दरबारलाई काँडेतारले घेरेको रहेछ । तारभित्र एकजना त्यस्तै दशवर्ष जति उमेरकी बालिका उभिरहेकी थिइन् । उनले आफ्नो नाम मिनु बिक बताइन् । मिनुले लमजुङ उच्च माविमा पढ्दी रहिछिन् । “दरबार हेर्न आउनु भएको होला । यही तारबाट छिरेर आए नि हुन्छ ।”, हामी थकित र असिनपसिन भएको देखेर उनले भनिन् ।

होइन, हामी गेटबाटै आउँछौं, बरु गेटचाहिँ कता छ नि नानू ? प्रश्ने सुन्नेबित्तिकै हातको ईशाराले दक्षिणी दिशातर्फ देखाइन्, “उः उत्ता छ ।”

यशोब्रह्म शाहले स्थापना गरेको मन्दिरमा अहिले पनि त्यसरी नै पूजा आराधना हुने रहेछ ।

हामी गेटबाटै आउँछौँ ल ? भन्दै देखाएकोतर्फ अगाडि बढ्यौँ । अलिकति पर गएपछि गेट भेटियो । दरबार क्षेत्रभित्र पसेपछि हामीले ती नानीलाई देखेनौं । भेटेर केही सोध्ने इच्छा थियो तर भेट भएन ।

एकछिन दरबार क्षेत्र घुमियो । खासै धेरै कुरा केही बुझ्न पाइएन । राजकुमारजी र मैले फोटोचाहिँ टन्नै खिच्यौं । जहाँ हेरे पनि, जता हेरे पनि फोटो खिच्न मन लाग्ने । सकेसम्म नबिराइकन ती सुन्दर छटाहरुलाई क्यामरामा कैद गर्‍यौं ।

‘स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय’ पनि रहेछ, त्यहाँ । कार्यालय १० बजेमात्र खुल्ने र हामी बिहानै पुगेकाले दरबार क्षेत्र सुनसान थियो । एकछिन घुमेर गेट बाहिर निस्क्यौं । प्रजापतिजीको पनि दरबारबारे बुझ्ने गहिरो इच्छा । त्यसैले यो इच्छा पूरा गर्नका लागि कोही पात्र खोज्दै थियौँ । संयोगवश दरबारसँगै रहेको मन्दिरका पूजारी नेत्र बोहोरालाई गेटबाहिर भेट्यौं । बोहोरासँग भलाकुसारी गर्न पाएपछि धेरै कुरा जान्ने मौका मिल्यो ।

सोह्रौ शताब्दीतिरको कुरा रहेछ । लमजुङका लागि राजा खोज्ने क्रममा यहाँका जनता (विशेष गरी दुरा जाति) कास्की भन्ने स्थानमा पुगेछन् । कास्कीमा कुलमण्डल शाह राजा थिए । उनैका दोस्रा छोरा कालु शाहलाई दुरा जातिले आफ्नो राजा बनाउन लमजुङ लिएर आए । तर, कालु शाहलाई यहाँकै शेगन्त जातिका मानिसले देखी सहेनन् । उनीहरुले सिकार खेल्ने निहुँले जङ्गलमा लगेर विषालु वाण प्रयोग गरी मारेछन् । फेरि लमजुङमा राजा भएन ।

दुराडाँडामा बस्ने कुस्माकर घिमिरे र खजे दुरा फेरि राजा खोज्न भनेर हिँडेछन् । उनीहरु पुनः कास्कीमा पुगी राजा कुलमण्डल शाहलाई भेटेछन् । आफुहरु निर्दोष भएको बेलीविस्तार लगाई राजालाई फकाएछन् । कास्कीका राजाले पनि “जेठोबाहेक एकलाई रोजेर लैजानू” भनेर अनुमति दिएछन् । उनीहरुले लामबाट अलि छुट्टिएर सुतेका राजाका कान्छा छोरा यशोब्रह्म शाहलाई लिएर आएछन् र आफ्नो राजा बनाएछन् ।

लमजुङका प्रथम राजा तिनै यशोब्रह्म शाहको दरबार रहेछ यो । उनी धेरै गर्मीको समयमा पुरानोकोट (गढी) दरबार (गाउँसहर दरबारबाट करीब ४५ मिनेट जति अझ माथि), धेरै जाडोको समयमा बेसीसहरमा र अरू बेलाचाहिँ गाउँसहर दरबारमा बसेर राज्य संचालन गर्दा रहेछन् ।

ऐतिहासिक त्यो दरबार, प्राकृतिक छटा, प्यास मेटाउने जरुवाको चिसो पानी, आँखालाई नै शान्त पार्ने सुन्दर दृश्यहरु, वनजङ्गल र तिनले सुसेलेका गीतहरु, यी गीतमा सङ्गीत दिइरहेका पंक्षीहरु…. आहा!

यशोब्रह्म शाह देवी देवताहरुका पनि परम भक्त रहेछन् । उनले दरबारसँगै कालीको पनि मन्दिर बनाएका रहेछन् । शाह वंशको कुलदेवीकी रूपमा यिनै ‘काली’लाई लिइँदो रहेछ । राजाले कालीसँगै गणेश, भैरव अनि गोरखनाथ लगायतका देवीदेवताको मूर्ति पनि स्थापना गरी पुजा आराधना गर्दा रहेछन् ।

यशोब्रह्म शाहका तीनजना छोराहरु थिए । तीमध्ये जेठा नरहरि शाह लमजुङकै राजा भए । कान्छा छोरा द्रव्य शाह लिगलिग कोटको दौडमा विजयी भई त्यहाँका राजा भए । पछि द्रव्य शाहले आफ्ना वरपरका स–साना राज्यहरुमाथि पनि विजय हासिल गरी गोरखा राज्यको स्थापना गरे । यिनकै वंशज पृथ्वीनारायण शाहले सिंगो ‘नेपाल’ निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।

यशोब्रह्म शाहले स्थापना गरी पूजा आराधना गरेको मन्दिरमा अहिले पनि त्यसरी नै पुजाआराधना हुने रहेछ । चैते दशैंको अष्टमी र ठूलो दशैंको नवमीको दिन विशेष पूजा लाग्दो रहेछ । मन्दिरमा मूल पुरोहित बराल थरका, पुजारी बोहोरा थरका, गोरखनाथका पुजारी कुँवर थरका र राना, आलेमगरहरु सुसारे पुजारीका रूपमा रहेछन् । गोरखनाथलाई कुँवर थरका पुजारीले विशेष गरी घरबाट ल्याएका चामलको पिठोबाट बनेको रोट चढाउने गर्दा रहेछन् । सोही रोट प्रसादका रूपमा बाँड्ने चलन रहेछ ।

पूजा चलाउनका लागि टपरी बनाउने टपरे, चन्दन घोट्ने चन्दने, नगरा बजाउने नगरे लगायत छुटछुट्टै कामको जिम्मेवारी दिइएका बाइस जना सुसारे हुँदा रहेछन् । पूजा चलाउन र पुजारीहरुको तलबभत्ताको लागि सरकारले नै आर्थिक स्रोतको व्यवस्था गरिदिएको रहेछ ।

काली मन्दिरको पूर्वतर्फ गोरखनाथको मन्दिर रहेछ । गोरखनाथको मन्दिरको बाहिर भैरवलाई पुजिँदो रहेछ । भैरवले अरूको लुटेर खाने, अरूलाई दुःख दिने भएर बाहिर राखिएको हो भन्ने जनश्रुति प्रचलित रहेछ । भैरवलाई चाहिँ सुँगुर आदि बलि दिइँदोरहेछ ।

ऐतिहासिक त्यो दरबार, प्राकृतिक छटा, प्यास मेटाउने जरुवाको चिसो पानी, आँखालाई नै शान्त पार्ने सुन्दर दृश्यहरु, वनजङ्गल र तिनले सुसेलेका गीतहरु, यी गीतमा सङ्गीत दिइरहेका पंक्षीहरु…. आहा! एउटा अविस्मरणीय झझल्को बोकेर, थकान मेटाउँदै, सुसेल्दै, गाउँदै, यिनकै बारेमा गफिँदै, छुटिनु त थियो जसरी पनि । हो, अनि हामी पनि छुटियौं, पृथ्वीभित्रकै स्वर्गको एक टुक्रासँग…!

Gaushar-Durbar-Lamjung-2