‘डिग्री-म्यान’

-भद्रगोल शर्मा ।

शर्मिलासँगको लामो कुराकानीपछि ऊ तन्द्रामा थियो । यत्तिकैमा मोबाइल फोनको घन्टी बज्यो । दिक्क मान्दै सिरानीमाथि राखेको मोबाइल तान्यो र हेर्‍यो । खासमा ऊ फोन उठाउने मुडमा थिएन । तर आमाको नम्बर देखिएपछि अल्छी मान्दै स्क्रिनमा औँला चलायो ।

‘हेल्लो आमा’ भनिसक्दा उताबाट बाको आवाज आयो – ए कान्छा, सन्चै छस् ? आज दश बजेपछिको ट्याम्मा कुरा गरम् भनेको तेरो फोन किन यतिसारो बिजी हो ? रातिमा कुरा गर्दा थोरै पैसा काट्छ भन्छन् ।

आमाको नम्बर देखेपछि कुरा गर्न तयार भएको उसले सुरुमै बाको गुनासो सुन्यो । रत्तिभर जाँगर नलागीकन झुटो स्पष्टीकरण पेस गर्‍यो – आज क्याम्पसका साथीले पालैपालो फोन गरे । पढाइको विषयमा कुरा गर्दै थिएँ । अनि सामान्य औपचारिकता पूरा गर्‍यो – सन्चै हुनुन्छ बा ? आमालाई कस्तो छ नि ? के छ गाउँतिर ? रात होस् कि दिन बासँग कुरा गर्न झर्को लागेको जस्तो गर्नु हुँदैन भन्ने कुरा उसलाई राम्रोसँग थाहा थियो ।

‘सामान्यतया नेपालमा कलेजको नाम भारतीय, अमेरिकन या युरोपियन हुने गर्छ । हाम्रो कलेजको नाम रसियनमा राखिएको छ । यसकारण कलेजमाथि क्रान्तिकारी विद्यार्थी र शिक्षकले धावा बोल्ने अवस्था छैन । उनीहरुले आजसम्म चाइनिज, बोलिभियन, रसियन नाम भएका संस्थामाथि आक्रमण गरेको रेकर्ड छैन । राजनीतिक दलका भातृसंस्थालाई बेलाबखत दशबीस हजार चन्दा दिनु कुनै ठूलो कुरा होइन । हामी निर्बाध रुपमा बिजनेस गर्न पाउने नेपालको टप एन्ड युनिक ब्रान्ड हुनेछौं ।’

ठिकै छ, भन्दै बा धाराप्रवाह बोल्दै गए – आज सम्धी आउनुभएको थियो । तेरो बिहाको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । तर अचेल म तेरो बारेमा केही भन्न सक्ने हालतमा छैन । कसैले भनेको मान्दैनस् । कहिलेकाहीँ फोन गर्ने,  घरको हेरविचार, सरसल्लाह पनि गर्दैनस् । हिजो तल्लो गाउँको रमेशसँग पनि भेट भएको थियो । एकवर्षमा अठार लाख कमायो रे । पोखरामा घडेरी किनेँ भन्दै थियो । उतिबेलै कोरिया गएको भए त्यसले भन्दा पनि राम्रो गर्न सक्थिस् । पढेर मात्रै के गर्नु ? यस्तो महङ्गीको जमाना छ । घरखर्च केले चलाउने ? भाइ बहिनी कसरी पढाउने ? यसरी केही काम नगरी कहिलेसम्म चल्छ ? आयोग लड् भन्दा पनि मानिनस् । तँ सँगैको दले वासेलको नेता भयो । अहिले कार चढेर हिँड्छ । रामकृष्णे सुब्बा पास भयो रे । तँलाई जागिर मन पर्दैन, विदेश जान पनि चाख मान्दैनस् । के गर्नु छोरा, साठिफिकेसले मात्रै खान लाउन नदिने रैछ । दुःखजिलो गरेर तँलाई पढाएको टुङ्गो लागेन बाबै । म निःसहारा भएँ । मलाई आडभरोस दिने कोही भएन ।

बा रोकिइसकेका थिएनन्, फोन सम्पर्क विच्छेद भयो ।

बाले गुनासो गरेका विषय, आफ्नै तर्कना र केहीबेर अघिमात्रै शर्मिलासँग भएका कुरामा खास भिन्नता थिएन । उसले शर्मिला, अरु समकक्षीहरु, बाआमा, भाइबहिनी, रमेश, बाका सम्धी अर्थात् पल्लाघरे दाइका ससुरा, वाइसिएलको नेता भएको दले, सुब्बा रामकृष्ण लगायत गाउँले साथीभाइ सबैलाई आफुसँग जोड्यो र आफ्नो बारेमा निष्कर्ष निकाल्ने कोसिस गर्दै थियो । एकाएक परिदृश्य बदलियो । उसले भ्लादिमिर कलेज अफ हायर एजुकेसनको प्रशासन प्रमुखको जागिर पाएको थियो । जागिरको अन्तर्वार्तापछि ओरिएन्टेसनमा प्रिन्सिपल सरले भनेको कुरा सम्झियो – ‘सामान्यतया नेपालमा कलेजको नाम भारतीय, अमेरिकन या युरोपियन हुने गर्छ । हाम्रो कलेजको नाम रसियनमा राखिएको छ । यसकारण कलेजमाथि क्रान्तिकारी विद्यार्थी र शिक्षकले धावा बोल्ने अवस्था छैन । उनीहरुले आजसम्म चाइनिज, बोलिभियन, रसियन नाम भएका संस्थामाथि आक्रमण गरेको रेकर्ड छैन । राजनीतिक दलका भातृसंस्थालाई बेलाबखत दशबीस हजार चन्दा दिनु कुनै ठूलो कुरा होइन । हामी निर्बाध रुपमा बिजनेस गर्न पाउने नेपालको टप एन्ड युनिक ब्रान्ड हुनेछौं ।’

ओभर क्वालिफिकेसन र एक्सपेरियन्सको तनावमा पूर्णविराम लगाउँदै भ्लादिमिर कलेजले उसलाई जागिर दिएको थियो । हरेक हिसाबले राम्रै थियो । रामकृष्णको भाइ र रमेशकी बहिनी त्यही कलेजमा भर्ना भएका थिए । जागिर नहुँदाका बखत उसलाई पुरै बेवास्ता गर्ने साथीहरुले क्रमशः महत्व दिन थालेका थिए । एवंरीतले दिनहरु बित्दै गए ।

एकदिन कलेजबाट निस्केर मुलसडकमा पुग्दा रातो रङ्गको एउटा मोटर नजिकै आएर रोकियो । अनि उसलाई नै लक्षित गरी हर्न बज्यो । गाडीभित्र बले रहेछ । बले बीए पढ्दा पढ्दै राजनीतिमा होमिएर दिन दुगुना, रात चौगुना प्रगति गर्ने युवा नेता थियो । बलेले गाडीमा बस्न इशारा गरेपछि ऊ त्यसतर्फ लम्कियो । त्यही बेलामा एक्कासि खङ्ग्रङ्ग आवाज आयो । ऊ झस्कियो । भुइँचालो पो आयो कि ? यस्तै सोच्दै झटपट उठ्यो ।

ऊ उठेको चाल पाएपछि किचनबाट फुत्त निस्केर यौटा कालो बिरालो ढोकातिर दौडियो । मध्यरातमा तर्साउने बिरालो निस्केपछि उसले असरल्ल छरिएका किताब कापी सम्हाल्यो । र, अलि व्यवस्थित भएर सुत्यो ।

***